अर्थ मन्त्रालयसँग परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक आयोजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाण्डौँ । काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकारको अर्थ मन्त्रालयले आज परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठकको आयोजना गर्यो । भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले गर्नुभएको थियो भने नेपाली टोलीको नेतृत्व नेपाल सरकारका माननीय अर्थमन्त्री डा प्रकाशशरण महतले गर्नुभएको थियो ।

उक्त बैठकमा परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको सहभागीता रहेको थियो ।

विविध सहुलियतपूर्ण ऋण लाइन अफ क्रेडिटका साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचा अन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबीच छलफल भएको थियो । बैठकमा भारत र नेपालबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भएको थियो ।

बैठकमा राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अर्थमन्त्री डा।महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्नुभयो । वहाँले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

भारत नेपालको सबैभन्दा ठूलो र प्रमुख विकास साझेदार हो । सन् १९५१ मा सुरु भएको भारत–नेपाल विकास साझेदारी विगत सात दशकमा झनै फैलिएको छ र निरन्तरता पाएको छ । विकास साझेदारी अन्तर्गतका परियोजनाहरु भौगोलिक रुपमा नेपालभर फैलिएका छन् र आकार र क्षेत्रका हिसाबले अलग छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस