‘शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरुरी छ’: प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १७, मंगलबार (१ साल अघि)
  • ४९ पटक पढिएको
Post Thumbnail

पुस १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरुरी भएको बताएका छन्। मंगलबार बिहान काठमाडौँमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्दै प्रधानमन्त्रीले भने, ‘‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरू विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवहरूको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन्।’’

शिक्षा लगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको बताउँदै उनले भने, ‘‘भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ। यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ। यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्दछौँ।’’

‘‘पछिल्लो समय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैन जस्तो नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रूपमा अभिव्यक्त भइरहेको तपाई–हामी सबैले देखेकै र अनुभूत गरेकै कुरा छ’’ प्रधानमन्त्रीले भने।

ताजा अपडेट

खोजी गर्नुहोस