भाद्र २०, काठमाडौँ । असोज ३ गते संविधान दिवसका अवसरमा एक हजार बढी कैदीबन्दीको सजाय मिनाहा हुने भएको छ ।उनीहरुलाई कैद मिनाहा गरेर सरकारले मुक्त गर्ने तयारी गरेको हो । सजाय मिनाहा पाउन लागेकाहरुको सूची कारागार व्यवस्थापन विभागले बिहीबार सार्वजनिक गरेको छ ।
विभागले गत असार ९ गते ७ दिने सार्वजनिक सूचना निकालेर ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली प्रकाशित गरेको थियो । उनीहरु छुट्न नपाउँदै विभागले मंगलबार थप ४९२ जनाको नामावलीसहित थुनामुक्त हुनेहरूको सूचीसहित सात दिने सूचना निकालेको छ । टीकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी र रिगल भनिने योगराज ढकालको बाँकी कैद माफी मिनाहा गरेपछि जनस्तरबाट चर्को चालोचना भएको थियो ।
यो मुद्दा सर्वोच्च अदालतमा समेत पुग्यो र अदालतले कैद माफीलाई बदर गरिदियो । अदालतले न्यायीक निर्णयको परिणामस्वरुप तोकिएको कैद सजाय कार्यकाररिणीको स्वेच्छाचारी तजबिजमा माफी, मिनाहा वा कैद कट्टी हुन नसक्ने फैसला गरेको थियो । माफी दिँदा पीडितको कुनै जानकारी नै नभएको कुरालाई सर्वोच्चले केन्द्रमा राखेर कैद माफिलाई बदर गरेको थियो ।