बुद्धजयन्ती तथा लुम्बिनी दिवस तीन दिन मनाइने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २८, आईतबार (६ घण्टा अघि)
  • ४४ पटक पढिएको
बुद्धजयन्ती तथा लुम्बिनी दिवस तीन दिन मनाइने

वैशाख २८, काठमाडौं । २५६९ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८२ तीन दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ । लुम्बिनी विकास कोषले शनिबार पत्रकार सम्मेलनमार्फत बुद्धजयन्तीका कार्यक्रमबारे जानकारी दिएको हो ।

कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले आज २८ गतेदेखि ३० गतेसम्म तीन दिन रुपन्देही, कपिलवस्तु र नवलपरासीमा उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताए । तीन दिने कार्यक्रममा एक करोड रुपैयाँ खर्च हुने लामाको भनाई छ ।

यसवर्ष बैशाख २९ गते बुद्ध जयन्ती परेको छ । तीन दिने कार्यक्रम अन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ भने वैशाष २९ गते विहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, विहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ ।

लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्रा गरिने कोषका वरिष्ठ सूचना अधिकारी डा हरिध्वज राईले जानकारी दिए ।

बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका सहित वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न लुम्बिनी विकास कोषले अपिल गरेको छ ।

बुद्ध जयन्तीको अवसर पारेर बैशाख २९ गते काभ्रे सेवा समाजको आयोजनामा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । काभ्रेको लागि केही गरौं भन्ने नाराका साथ २०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस