मंसिर १५, काठमाडौं । खेलकुद विश्वलाई एकजुट पार्ने सबभन्दा सजिलो माध्यम हो भनिन्छ । त्यसैले त ब्यारोन पियरे डी कुबर्टिनले विश्वलाई एकै थलोमा अनुभव गर्ने सपना आधुनिक ओलम्पिकमार्फत साकार गरे । जुन खेलकुद निकै प्रभावकारी बन्यो र त्यसपछि क्षेत्रीय खेलकुदहरू हुन थाले ।
दक्षिणपूर्वी एसिया र पश्चिम एसियाका आआफ्नै क्षेत्रीय खेलकुद प्रतियोगिता छन् । यही स्वरूपमा दक्षिण एसियाका सात राष्ट्रबीच दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने गर्छ ।
दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सोही दक्षिण एसियाली खेलकुद (साग)को १३औँ संस्करण नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा आइतबार सुरु हुँदै छ । यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा १४ मिनेटको उद्घाटन समारोह हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३औँ साग सुरु भएको घोषणा गर्नेछिन् ।
दक्षिण एसियाली महाद्वीपका राष्ट्रहरूको दृष्टिमा रहने यो खेलकुद मेलालाई राष्ट्रको सम्पन्नता, वैभव र समृद्धि देखाउने अवसरका रूपमा पनि लिइन्छ । त्यसैले उद्घाटन समारोह भव्य गर्ने तयारी भइरहेको छ । उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ ।
एसियाली खेलकुद नेपालमा तेस्रो पटक आयोजना हुँदै छ । साग खेलकुदमा नेपालको सबभन्दा ठूलो उपलब्धि काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ हो । सो संस्करणमा नेपालले स्वर्ण पदक मात्र ३१ वटा हासिल गरेको थियो । नेपालले सो समय पदक तालिकामा भारतपछाडि दोस्रो स्थानमा आफूलाई उभ्याएको थियो । पहिलो संस्करणमा नेपालले चार स्वर्ण पदक जितेको थियो ।
सागमा भारतले सबै संस्करणमा अङ्क तालिकामा शीर्ष स्थान बनाउँदै आएको छ । यस पटक पनि भारतले नै अङ्क तालिकामा दबदबा बनाउने अनुमान गरिएको छ । भारत दक्षिण एसियाली क्षेत्रमा खेलकुदमा महाशक्ति राष्ट्र हो । हुन त यसपालि भारतले दक्षिण एसियाली खेलकुदमा त्यति चासो देखाएको छैन ।
कराँते, फुटबल र क्रिकेटजस्ता खेलमै भारतको सहभागिता छैन । तर यस पटक पनि उसलाई अन्य राष्ट्रले चुनौती दिने अपेक्षा गरिएको छैन । घरेलु टिम नेपाललाई अङ्क तालिकाको दोस्रो स्थानमा रहने आशा गरिएको छस जुन सही पनि छ । घरेलु भूमि र दर्शकको ऊर्जाबीच यो लक्ष्य असम्भव छैन । गाेरखपत्र दैनिकमा खबर छ ।