भाद्र १४, काठमाडौँ । आर्सनलले यस बर्षको कम्युनिटी शिल्ड जितेको छ । गएराती सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा लिभरपुललाई पराजित गर्दै आर्सनलले यस बर्षको कम्युनिटी शिल्ड जितेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले १(१ गोल गरेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो । पेनाल्टी सुटआउटमा आर्सनल ५-४ ले विजयी भएको थियो । लिभरपुलका रिहान ब्रेवस्टरले पेनाल्टी मिस गर्दा लिभरपुल पराजित हुन पुगेको थियो ।
यस अघि आर्सनलका लागि खेलको १२औ मिनेटमा पिएर्रे एमरिक आउबामेयांगले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने लिभरपुलका लागि खेलको ७३औ मिनेटमा टाकुमी मिनामिनोले बराबरी गोल गरेका थिए । प्रिमियर लिग विजेता र एफए कप विजेताबीच सिजन शुरु हुनुभन्दा अगाडी हुने कम्युनिटी शिल्डमा आर्सनलको यो १६औ जित हो । अहिलेसम्म सबैभन्दा बढी कम्युनिटी शिल्ड जित्ने रेकर्ड भने म्यानचेस्टर युनाइटेडको नाममा रहेको छ । युनाइटेडले अहिलेसम्म २१ पटक यो उपाधि जितेको छ । त्यस्तै लिभरपुलले १५ पटक जितेको छ ।