खेल मिलेमतो राज्यविरुद्ध कसुर नहुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ भाद्र २३, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २३, काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य विप्लवमा नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय एकतामा अव्यवस्था सिर्जना हुनुपर्ने फैसलामा उल्लेख गरेको छ । खेल मिलेमतोलाई राज्य विप्लव नमाने पनि अदालतले राष्ट्रको शिर निहु¥याउने लज्जाको विषय भनेको छ । खेल मिलेमतो कसुरबाट भने अदालतले पाँच खेलाडी र एक प्राविधिक विशेषज्ञलाई असार २ गते नै सफाइ दिएको थियो । कानुन अभावमा फौजदारी कसुर ठहर हुन नसक्ने भन्दै अदालतले सफाइ दिएको थियो ।

अदालतले सार्वजनिक गरेको पूर्णपाठ अनुसार राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ३ ले खेल मिलेमतोलाई राज्य विप्लवमा नसमेट्ने व्याख्या गरेको छ । राज्य विरुद्धको कसुर जन्मकैद सम्मको सजाय भए पनि पछिल्लो समय विधायिकाले तय गरेको खेल मिलेमतोको परिभाषाले जन्मकैदमा नसमेटेको पनि अदालतले स्मरण गराएको छ । २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी संहितामा खेल मिलेमतोमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँ जरिवानाको व्यवस्था गरेको छ । खेलाडीलाई मुद्दा भने कानुन अभावमा राज्य विरुद्धको अपराधमा चलाइएको थियो ।

कानुन अभावमा नै अदालतले खेलाडीलाई सफाइ दिएको थियो । मिलेमतोलाई भने अदालतले राष्ट्रिय लज्जा मानेको छ । सन् २००७ देखि २०१४ सम्म विभिन्न खेलमा भएको मिलेमतोको विषयलाई लिएर मुद्दा दायर भएको थियो । नेपालको प्रतिनिधित्व गरेका विभिन्न खेलमा विदेशी एजेन्टसँग मिलेर राष्ट्रहित विपरीत कार्य गरेको आरोप खेलाडीमाथि थियो ।

मुद्दा दायर गरेको समयमा खेल मिलेमतोको स्पष्ट कानुन नभएको भन्दै विशेष र सर्वोच्च अदालत दुवैले अभियोग अस्वीकार गरेका छन् । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस