असोज २८, काठमाण्डौ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटअन्तर्गत आज बुधबार दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् । लिगको आठौं खेल खेल्न लाग्दा दिल्ली जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा छ ।
लिगमा ७ खेल खेल्दै दिल्ली १० अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको मुम्बईको पनि समान अंक छ । मुम्बई नेट रनरेटका आधारमा अघि छ । दिल्लीको आजको खेलमा सन्दीप लामिछानेले खेल्ने सम्भावना कम छ । लिगमा दिल्लीले सात खेल खेलिसक्दा पनि सन्दीपले टिममा स्थान बनाउन सकेका छैनन् । राजस्थानविरुद्ध स्पिनरहरु हाबी बनाउन चाहेमा दिल्लीले सन्दीपलाई स्थान दिने सम्भावना छ ।