पौष ११, काठमाडौं । सरकारले पराल, खर र स्याउलाको छाना भएका परिवारलाई जस्तापाता हाल्न ५० हजार रुपैयाँ दिने भएको छ।
गरिबीको रेखामुनी रहेका र प्रकोपका कारण घरबारविहीन भएका परिवारलाई सुरक्षित आबासमा ल्याउन सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जस्तापाता किन्न रकम दिने निर्णय गरेको हो।
बैठकले ‘सुरक्षित नागरिक आबास कार्यान्वयन कार्यविधि ०७५’ स्कीकृत गरेको छ। चालु आर्थिक वर्षको बजेटमा सुरक्षित आबासको लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ।
सहरी विकास मन्त्रालयका अनुसार स्थानीय तहको सिफारिसमा सम्झौता भएपछि ६० प्रतिशत रकम दिइने छ भने जस्तापाता हालिसकेपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध हुनेछ।