साउन २०,काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा पहिरो खस्दा १३ जना नेपाली कामदार बेपत्ता भएका छन्। बेपत्ता हुने सबै हुम्ला जिल्लाका रहेका छन् ।
नेपालको पश्चिमी नाका बैतडीको झुलाघाटबाट ३७० किलोमिटर दुरीमा रहेको भारतको गौरीकुण्डमा बिहीबार राति पहिरो खसेको हो। यहाबाट केदारनाथ ७१ किलोमिटर दुरीमा रहेको छ।
पहिरोमा दुई वटा होटल पुरिएका छन्। भारतीय स्थानीय सञ्चारमाध्यमका अनुसार होटलमा पुरिएका १९ जना मध्ये १३ जना नेपाली कामदार र छ जना भारतीय रहेको बताइएको छ । पहिरोमा छ जना भारतीय नागरिकसमेत बेपत्ता भएका छन्।
पहिरोमा कर्णाली प्रदेशको हुम्लाको पातारासी गाउँपालिकाका धननाथ बुढा, चन्ना नेपाली, सुराम रावतसहित १३ जना नेपाली कामदार र साथमा रहेका बालबालिका बेपत्ता भएको हुम्लाको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताउनुभयो। गाउँपालिका अध्यक्ष बोहराले हुम्लाबाट काम गर्न भारतको उत्तराखण्ड राज्यमा ठुलो सङ्ख्यामा नेपाली कामदार जाने गरेको बताए।
घटनाका विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भारतीय सञ्चार माध्यममा आएको जानकारीबाहेक लिखित रुपमा भारतबाट कुनै तथ्य नआएको बताए।
भारतको उत्तराखण्ड राज्यका १३ जिल्लामा सुदूरपश्चिम र कर्णालीका नेपाली कामदारले विकास आयोजनामा मजदुरी गरिरहेका थिए ।