इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौमा झन्डोत्तोलन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ३२,काठमाडौँ । गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतको कार्यालय आईएमई कम्प्लेक्स परिसर पानी पोखरी, काठमाण्डौमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो ।

इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपाल र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आउँदा दिनमा यसलाई जनस्तरसम्म पुर्‍याउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

उहाँले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका नागरिक तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आउँदा दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए ।

नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको राजदूतको आवासीय कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ ।

इन्डोनेसिया आसियान राष्ट्रहरूमध्येको ठूलो अर्थतन्त्र भएको देश हो । नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।

झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियाली मूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस