रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरिएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको हो ।
उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिई सम्पर्क गर्न अनुरोध गरेको छ । तोकिएको मितिमा सम्पर्कमा नआएको खण्डमा शाखा जबाफदेही नहुने जनाएको छ ।
ईपीएस शाखाले मंसिर १९ गते उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न सूचना प्रकाशन गरिएको थियो । । उक्त सूचनाको बुँदा नम्बर ५ (च) मा सन् २०२३ भित्र अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकहरुले उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) मा फाराम भर्न नपाउने भनेको थियो ।
उक्त सूचनाकाविरुद्ध सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रमा सामेल भएका आवेदकहरूमध्ये सुरज पाठक समेत १८ जनाले सन् २०२३ मा आवेदन माग गरिएको उत्पादनमूलक क्षेत्रको परीक्षा आवेदन फाराम भर्न पाउनुपर्ने माग राखी उच्च अदालत पाटनमा निवेदन पेस गरेका थिए । उक्त निवेदनमा उच्च अदालत पाटनले पुस ५ गते अन्तरिम आदेश जारी गर्दै निवेदकहरुलाई फाराम भर्न रोक नलगाउनु र निवेदकहरूलाई आवेदन फाराम भर्न दिनु भनी अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालतमा निवेदन दिनेहरूलाई पुस १३ गते आवेदन फाराम भर्नका लागि ईपीएस कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।