पुस ११,काठमाडौँ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका कार्यकर्ताहरुले देशका सम्पूर्ण भन्सार कार्यालयबाट लिने ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गर्दै बुधबार भन्सार विभाग घेराउ गरेका छन् ।
विभिन्न माग गर्दै आम सम्पर्क मञ्चले सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत बुधबार पार्टी उपाध्यक्ष तिलक थापाको नेतृत्वमा ११ औँ दिन काठमाडौँको त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना तथा घेराउ गरिएको हो ।
आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ ।
उपाध्यक्ष थापाले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्नुपर्ने बताए । ‘पुरस्कारको रकम कति कसको नाममा कहिले गएको हो ? यो आम जनताले जान्न जरुरी छ । यो ४५ प्रतिशत पुरस्कारको व्यवस्था खुलेआम लुट हो किनकि यो पैसा गुपचुप सिधै मन्त्रीको खातामा पुग्छ । यसलाई रोक्न सर्वप्रथम हाम्रो माग सम्बोधन गर्नुपर्छ,’ उपाध्यक्ष थापाले भने ।