भाद्र १६, काठमाण्डौँ । एकीकृत समाजवादीले महाधिवेशनको दुई महिनापछि चुनावमार्फत् पदाधिकारी र पोलिटब्यूरो सदस्य चयन गरेको छ। तर, निर्वाचनमा गुटउपगुट छताछुल्ल भएको छ।
एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको हो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत चयन भए ।
यसअघि दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन । अध्यक्ष नेपाल पक्षले पदाधिकारीमा जिताउनुपर्ने नेताहरूको नामावली बाँडदा उनकै समूहकी रामकुमारी झाँक्री उपाध्यक्षमा हारेकी छन्। त्यति मात्र होइन, माधव नेपाल पक्षको चिटमा डा विजयकुमार पौडेल र प्रकाश ज्वालालाई हटाएको थियो।
पदाधिकारीमा झलनाथ खनाल र घनश्याम भुषाल समूहका प्रकाश ज्वाला बाहेक कोही पनि परेका छैनन । एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष र गुटगत राजनीति छरपष्ट भएपछि पार्टीको भविष्य नै संकटमा परेको छ। ०७८ मा तत्कालीन एमालेबाट विभाजन भएर एकीकृत समाजवादी गठन भएको थियो। तर, राष्ट्रिय दलसमेत बन्न नसकेको एकीकृत समाजवादीमा गुटगत राजनीति भएपछि फुटको संघारमा पुगेको हो।