माघ २३,काठमाडौँ । चितवन जिल्ला अदालतले पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएका छ । बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई इजलाससले हिरासतमा पठाएको हो ।
सहारा सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने बयानका लागि चितवन पुगेका थिए । मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर भएपछि लामिछाने चितवन आएका थिए । लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा सुनुवाइ भएको थियो ।
मंगलबार चितवन जिल्ला अदालतमा सहारा सहकारी ठगी प्रकरणमा रविविरुद्ध ठगी मुद्दा दायर गरिएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।
त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।
प्रतिवादीमा लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछाने नाम किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित छ वटा संस्था रहेका हुन् ।