असार १४, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा पुन: जोडिएकी छिन् । शनिबार स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन् । अब आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको बताइन् ।
यसमा आफूले गर्व महसुस गरेको जिकिर गरिन् । आफ्नो कुनै विशिष्ट महत्त्वाकांक्षा नरहेको र देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको दावी गरिन् । राजनीतिमा थकाइ भन्ने शब्दावली नरहने बताइन् ।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।