चैत्र १८, काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले दिएको दैनिक अपडेट अनुसार मंगलबार सवा ४ बजेसम्म थप व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेला परेको छैन । मन्त्रालयको नियमित कोरोना अपडेट दिदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप पोजेटिभ नथपिएको जानकारी दिएका हुन् । उनले पछिल्लो २४ घन्टामा ६७ जनाको कोरोना टेस्ट भएको उनले बताए ।
अहिलेसम्म नेपालमा १ हजार ६० स्याम्पलको कोरोना परीक्षण गरिएको छ । जसमध्ये यसअघि देखिएको पाँच जना मात्र कोरोना संक्रमित छन् । पाँच जनामध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने ४ जनाको उपचार भइरहेको छ ।
ब्रिफिङका क्रममा उनले काठमाडौं उपत्यका र प्रदेशहरुमा गरेर ८७ जना आइसोलेसनमा रहेको जानकारी दिए । आइसोलेसनमा उपत्यकामा टेकु अस्पतालमा १० जना र सबै प्रदेशमा ७७ जना रहेका छन् ।