चैत्र २०, काठमाण्डौ । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ संक्रमणबाट बुधबार एकै दिन ४८ सय ८३ जनाको मृत्यु भएको छ । यो कोरोना संक्रमणको कारण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो । हिजो एकै दिन कोरोनाका ७६ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४७ हजार १ सय ९४ पुगेको छ । संक्रमितको संख्या ९ लाख ३९ हजार ४३१ पुगेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । यो बिहीबार बिहान पौने ७ बजेसम्मको तथ्यांक हो ।
अमेरिकामा बुधबार कोरोना संक्रमणबाट एक हजार ४९ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म कोरोनाबाट ५१ सय २ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ बुधबार मात्रै २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकापछि बुधबार स्पेनमा धरैको मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन ९ सय २३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ ।
इटालीमा बुधबार ७ सय २७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म १३ हजार १५५ जनाको मृत्यु भइसकेको छ । युकेमा बुधबार यसको संक्रमणबाट ५ सय ६३ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट त्यहाँ अहिलेसम्म २३ सय ५२ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या २९ हजार नाघेको छ । फ्रान्समा बुधबार यसको संक्रमणबाट ५ सय ९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या झण्डै ५७ हजार पुगेको छ । त्यसैगरी बुधबार जर्मनीमा १५६, इरानमा १३८, बेल्जियममा १२३, नेदरल्यान्डमा १३४, स्वीडेनमा ५९, ब्राजिलमा ४१, पोर्चुगलमा ४१, स्वीटजरल्यान्डमा ५५, टर्कीमा ६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।