वैशाख १७, काठमाण्डौ । राजीनामाका लागि पार्टीभित्रबाट दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्याउने प्रयासमा जुटेका छन् । उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदहरुलाई सामूहिक र व्यक्तिगत रुपमा भेट गरिरहेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन् ।
पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा रहेका ओली संसदीय दलमा भने टक्कर लिने मनस्थितिमा छन् । प्रधानमन्त्री पदको निर्धारण पनि संसदीय दलले गर्ने संवैधानिक व्यवस्था छ । संसदीय दलमै बहुमत पुर्याएर प्रचण्ड(नेपाल समूहको प्रयास बिफल बनाउन सकिनेमा ओली समूह आशावादी पनि छ । नेकपामा एक सय ७४ सांसद छन्। संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको १२१ तथा पूर्व माओवादी समूहका ५३ सांसद छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमसहित नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ । यसरी आफ्नो समूहमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड नेपाल समूहको छ ।
उता अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरुको दाबी छ । बहुमतका लागि ८८ सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ ।