साउन ७, बागमती । बागमती प्रदेश सरकारले एकैदिन ३२ वटा पुल उद्घाटन गर्ने भएको छ । असार मसान्त सम्म निर्माण सम्पन्न भएका पुलहरुको यही साउन ७ गते वुधबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले दुईवर्ष भित्रमा सम्पन्न गरेका पुलहरुको उद्घाटन गर्न लागिएको हो । प्रदेश सरकारले विगत दुईवटा आर्थिक वर्ष भित्रमा ३२ वटा पुल सहित एक हजार तीन सय किलोमिटर सडक निर्माण सम्पन्न गरेको उनले बताए ।
प्रदेश सरकारले सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६ वटा पुल निर्माण सम्पन्न गरेको छ भने रसुवा बाहेक प्रदेशका सबै जिल्लामा पुलहरु निर्माण सम्पन्न भएकाछन् । आगामी एक महिनाभित्र अरु डेढदर्जजन पुल तयार हुने जनाइएको छ । त्यस्तै पूर्वाधार विकास कार्यलय, ललितपुर र पूर्वाधार विकास कार्यालय, काभ्रेले छ÷छ वटा, पूर्वाधार विकास कार्यालय, चितवनले ५ वटा, पूर्वाधार विकास कार्यालय, नुवाकोटले चारवटा र पुर्वाधार विकास कार्यालय, रामेछापले दुईवटा पुल निर्माण सम्पन्न गरेकाछन् । मन्त्री फुयालले प्रदेशका कुनैपनि क्षेत्रलाई विकट क्षेत्रको रुपमा नछोडिने बताए ।
प्रदेशको विकट गाउँपालिका मध्येकोे धादिङको रुविभ्याली गाउँपालिका तथा काभ्रेको महाभारत गाउँपालिका अहिलेसम्म सडक सञ्जालले जोडिन नसकेकोमा नजिकैको राजमार्ग वा कालो पत्रे सडकबाट उक्त गाउँपालिकाको केन्द्रहरुसम्म जोड्नका लागि निर्माण कार्य अगाडि बढेको तथा अन्य १४ वटा पालिकाको केन्द्रहरुमा बाह्रै महिना निर्वाध रुपमा सवारीका साधनहरु सञ्चालन गर्नका लागि कालोपत्रे गर्नेकार्य अगाडि बढाइएको उनले बताए ।