जेठ २७, काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल दिउँसो ३ः४५ पौने चार बजे सुरु हुनेछ ।
सिरिजको तिन मध्ये दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्ने योजनामा छ ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले तथा दोस्रो खेलमा नेदरल्यान्डलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ।
नेदरल्यान्डस पनि आज पहिलो जितको खोजीमा छ । यसअघि खेलेको दुई खेलमध्ये पहिलो खेलमा नेपालसँग पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो ।
लिग–२ को अंक तालिकामा नेपाल १५ खेलमध्ये चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेर १० अंकका साथ सातौँ स्थानमा छ । नेदरल्यान्ड्स २२ खेलमा १२ जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै २६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
लिग–२ पछि नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० आइ सिरिज खेल्नेछ ।