जेठ २७, काठमाडौं । केही दिनदेखि देशभरको तापक्रम बढिरहेको छ । सरदर मितिभन्दा १५ दिनअगावै (जेठ १५) पूर्वी नेपालमा प्रवेश गरेको मनसुन ब्रेक भइदिँदा देशभर गर्मी बढेको हो ।
मनसुनी वर्षा नै बन्द हुनुलाई मनसुन ब्रेक भनिन्छ । पूर्वी नेपालमा वेलावेला हल्का वर्षा भइरहे पनि देशभर मनसुन फैलन नसक्दा बाँकी क्षेत्रमा टन्टलापुर घाम लाग्दा न्यूनतम र अधिकतम दुवै तापक्रम बढेको छ । तराईमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन देशभर विस्तार नहुँदै ब्रेक भएको बताए । ‘कोशीमा १५ जेठ राति मनसुन भित्रिएर सुरुवातीमा ठुलो वर्षा पनि भयो । त्यसपछि त्यहाँ पनि खासै सक्रिय हुन सकेको छैन,’ अर्यालले भने, ‘मध्य र पश्चिम नेपालमा त मनसुन पुगेकै थिएन । एक सातादेखि मनसुन नै ब्रेक भएको छ ।’
पश्चिमी र न्यूनचापीय प्रणाली पनि खासै सक्रिय हुन नसकेकाले मध्य र पश्चिम नेपालमा वर्षा हुन नसकेको हो । वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन देशभर विस्तार हुन अझै हप्तारदश दिन लाग्न सक्ने देखिएको छ ।
यसैबीच गर्मी बढेसँगै जनजिवन प्रभावित बन्न थालेको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या हुन सक्ने डाक्टरले बताएका छन् । सकेसम्म दिउँसोको चर्को घाममा घरबाट ननिस्कन र निस्कनै परेमा छाता ओढ्न, शितल छहारीमा बस्न, पानी तथा सर्वत पिउन डाक्टरको सल्लाह छ ।