नेशनल गार्डपछि लस एन्जल्समा मरिन सैनिक परिचालन, प्रदर्शन झनै उग्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २७, मंगलबार (५ घण्टा अघि)
  • ६८ पटक पढिएको
नेशनल गार्डपछि लस एन्जल्समा मरिन सैनिक परिचालन, प्रदर्शन झनै उग्र

जेठ २७, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जल्समा भैइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको प्रदर्शन थप अराजकतातिर उन्मुख भएको छ । अध्यागमन विभागले प्रान्तीय सरकारलाई बेवास्ता गर्दै अवैध आप्रवासीका नाममा छापा मार्न लागेपछि सुरु भएको प्रदर्शन थप हिंसात्मक बन्दै गएको हो ।

राष्ट्रपति ट्रम्पले प्रदर्शन दबाउन थप शक्ति परिचालन गरेका छन् । यसअघि उनले प्रान्तीय सरकारको आग्रह बिना नै २ हजारको संख्यामा नेशनल सेक्युरिटी गार्ड परिचालन गरेका थिए । यसप्रति क्यालिफोर्नियाका गभर्नरले आपत्ति प्रकट गरेका थिए । तर ट्रम्पले प्रान्तीय सरकारको असन्तुष्टिकाबीच थप २ हजार नेशनल सेक्युरिटी गार्ड फेरि परिचालन गरेका छन् ।

नेशनल सेक्युरिटी गार्ड गभर्नरको सिफारिसमा राष्ट्रपतिले परिचालन गर्ने कानूनी व्यवस्था छ । तर ट्रम्पले संघीय कानूनअनुसार यस्तो निर्णय लिएको दाबी गरेका हुन् । पछिल्लोपटक ट्रम्पले ७ सयको हाराहारीमा मरिन सैनिक परिचालन गरेको बताइएको छ । यसले संघ र प्रान्तबीच राजनीतिक मतभेदसमेत चुलिएको छ ।

लस एन्जल्स सहरमा प्रदर्शनकारीले निरन्तर प्रदर्शन जारी राखेका छन् । यो प्रदर्शनका क्रममा कयौँ गाडीहरुमाथि आगो लगाइएको छ भने प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको छ । गोली लागेर केही व्यक्ति घाइते भएका छन् ।

हालसम्म एकसयभन्दा बढी प्रदर्शनकारी अस्पताल भर्ना भएको र त्यति नै संख्यामा गिरफ्तार भएको बताइएको छ । साथै सहरका डिपार्टमेन्टल स्टोरहरुमा लुटपाटसमेत भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस