फागुण २, काठमाडौ । नेपाली कांग्रेसले नेपालको चीनतर्फको प्रमुख व्यापारिक नाका केरुङ नाकामा आयात निर्यात सहज बनाउन सरकारसँग माग गरेको छ । कोरोना महामारीका कारण बन्द रहेको उक्त नाका कोरोना संक्रमणको जोखिम कम भएको अवस्थामा समेत नाका सञ्चालन नहुनुले आम नागरिक एवम् व्यवसायीहरुमा समस्या परेको भन्दै त्यस्तो माग गरेको हो ।
आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, “चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो । तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेकोे हुंदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ ।”
०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद रहेको कांग्रेसले जनाएको छ ।