साउन २३, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ‘सम्मानजनक पार्टी एकता हुनुपर्ने’ निर्णय गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न दुई दिने बैठकपश्चात् पार्टी निर्णय सार्वजनिक गर्दै नेता रघुजी पन्तले गत २७ असारमा सम्पन्न १० बुँदे सहमति एकताको आधार मान्दै निष्कर्ष निकालिएको जानकारी दिँदै ४बुँदे निर्णयसहित बैठक सकिएको बताएका छन् ।
‘हाम्रो अडान सम्मानजनक पार्टी एकता हो,’ १०बुँदे सहमति आधार मानेर एकता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताउँदै पन्तले थपे, ‘यसका लागि प्रयास जारी राख्ने सहमति भएको छ ।’ त्यस्तै, बैठकले १०बुँदे सहमतिको भावनाविपरीत वरिष्ठ नेता नेपालमाथि अनेकौं टिप्पणी गरिएकोमा आपत्ति जनाएको छ । पार्टी एकताका लागि वार्ता चलिरहेको समय अध्यक्ष केपी शर्मा ओली पक्षबाट हुने अधिवेशन र सदस्यता नवीकरण रोक्न मागसमेत बैठकले गरेको छ ।
बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यले पार्टी विधानअनुसार ७० वर्ष पुगिसेकेका अध्यक्ष ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने आवाज उठेको छ । केन्द्रीय सदस्य दिनेश राईले ७० वर्ष पुगिसकेका अध्यक्ष ओलीसहितका नेताले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्नेमा जोड दिए ।