माघ ११, काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सव समारोह माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा बुधबार एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गतवर्ष भन्दा यो वर्ष अर्थतन्त्र राम्रो भैसकेको बताउँदै सिमित साधन स्रोतबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्ने दिशामा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिले राष्ट्रिय वाणिज्य बैंक राम्रो अवस्थामा रहेको बताउँदै बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने बताउनुभयो । उहाँले सरकारले बैंकको सुधारका लागि उदार भएर कार्य गर्ने गरेको समेत बताउनुभयो ।
प्रमुख अतिथि एवं माननीय डा. प्रकाशशरण महतले बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियोे । उहाँले कार्यक्रममा बैंकको ५९ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० विमोचन गर्नुभएको थियो । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट÷उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण योगदान हुने गरेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको बताउनुभयो ।
बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकिङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्र रूपमा ग्राहकका आकाङ्क्षाहरू परिवर्तन भइरहेको सन्दर्भमा यस बैंकले ठुला उद्यमी तथा साना व्यवसायीदेखि सबै प्रकारका ग्राहकका आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।