जेठ २९, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि २० गतेबाट बोलाइएका कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन् । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउन माग गरेका छन् । साथै उनीहरुले छानबिन समिति गठन गर्न माग गर्दै आएका छन् । तर सरकार समिति गठन नगर्ने अडानमा छ । यसअघि रास्वपाले सहमतिका लागि कांग्रेसलाई पाँच बुँदे प्रस्ताव दिएको थियो भने नेकपा माओवादी केन्द्रले पनि दुई बुँदे प्रस्ताव राखेको थियो ।
रास्वपाले समिति गठनका लागि तयार पारेको प्रस्तावमा अरु विपक्षी दलले काँध थापेका छन् तर सत्तारुढ नेकपा एमालेले भने त्यो प्रस्तावमा छलफलै हुन नसक्ने प्रतिक्रिया दिएको छ । एमाले सांसद योगेश भट्टराईले त्या प्रस्तावमा छलफल नहुने भन्दै अवरोध अब धेरै समय नजाने बताए । उनले माओवादीको प्रस्तावमा भने सकारात्मक रहेको बताए ।