जेठ २९, नवलपरासी पूर्व । नवलपरासी पूर्वका किसान चैते धानको उचित मूल्य नपाउँदा निराश भएका छन् ।
मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरेका छन् । तर प्रतिक्विन्टल दुई हजार २ सय मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष तीन हजारभन्दा धेरै मोलमा उनले धान बेचेका थिए ।
बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताए । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका छन् ।
गैंडाकोटका किसान मानबहादुर थारुले प्रतिक्विन्टल २२ सयका दरले व्यापारीलाई धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।
सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारी बताउँछन् । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनको भनाई छ ।
यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।