माघ १२,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मुलुकभर विभिन्न बहानामा गरिने विकास विरोधीको हिसाव–किताब हुने उल्लेख गर्दै विकास विरोधीलाई जनताले गाउँ गाउँबाट लखेट्ने चेतावनी दिएका छन ।
शनिबार मध्यपुरथिमिको राधे राधे स्थित ईजी ट्रायल सेन्टरमा आयोजना गरिएको हनुमन्ते सफाई अभियानको आज १०० हप्ता तथा अरनिको राजमार्गमा सुरु भएको सोलार बत्ति जडान, हरियाली प्रर्बद्धनका कार्यक्रममा बोल्दै सांसद बस्नेतले सांसद बस्नेतले विकास विरोधीको हिसाव–किताव राख्ने बताउँदै हनुमन्ते करिडोर निर्माणमा जग्गा धनी कसैलाई पनि नोक्सान नपर्ने गरि हनुमन्ते जग्गा एकिकरण माफर्त सबैलाई क्षतिपूर्ति दिईने प्रतिबद्धता व्यक्त गरे ।
हनुमन्ते करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने बताउँदै करिडोरको विरुद्धमा जनता भड्काउने र अदालतमा मुद्धा हालेर विकास बिथोल्नेलाई जनताले सजायँ दिने चेतावनी दिँदै उनले देश मै नमूना बनेको हनुमन्ते सफाई अभियानलाई अब नयाँ मोडलमा अगाडि बढाई चारवटै नगरपालिकाले संचालन गर्ने गरि अगाडि बढाईने बताए ।
हनुमन्ते सफाई अभियानका अगुवाईकर्ता समेत रहेका सांसद बस्नेतले अब हनुमन्ते होस वा सडक जहाँकही फोहोर गर्नेलाई नगरपालिका, जिल्ला प्रशासन र प्रहरीले कारबाही अगाडि बढाउनु पर्नेमा जोड दिदै फोहोर गर्नुपनि सामाजिक अपराध भएकाले सार्वजनिक मुद्धा लगाएर फोहोर गर्नेलाई सजायँ दिनुपर्ने बताए ।
उनले हनुमन्ते सफाई अभियानबाट निरन्तर ६० दिन अरनिको राजमार्ग सफाई, अरनिको राजमार्गमा सोलार बत्ति जडान, हरियाली प्रर्बद्धन, विपद सामाग्री व्यबस्थापन जस्ता कार्यक्रम उपलब्धीका रुपमा आएको चर्चा गरे ।
भक्तपुरको विकास देश कै पूर्वी नेपालसँग जोडिएको चर्चा गर्दै उनले भक्तपुरमा आएको विकास रोक्न खोज्नेलाई जनता आफैले लखेट्छन् भन्दै जनप्रतिनिधी समेत विकास रोक्न लागेकोले तिनलाई जनताले हिसाब राख्ने बताए ।
सरकारले हनमन्ते करिडोर निर्माणको लागि यसवर्ष १ अर्ब ९९ करोड रुपैया र हनुमन्तेको फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि १ अर्ब रुपैया बजेट बिनियोजन गरेको बताउदै उहाँले अबको दुई वर्षमा हनुमन्तेमा सफा पानीमा माछा खेलेको देख्न पाईने बताए।