वैशाख २६, काठमाडौं । सांसद राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम नगरेको आरोप लगाएका छन्। बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महतोले यस्तो आरोप लगाएका हुन् । ‘आज मैले धेरै कुरा केही भन्नु छैन’, सांसद महतोले भने, ‘दुई तिहाइको सरकार दुई कौडीको काम गरेन ।’ महतोले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ संक्रमण नियन्त्रणका लागि सरकारले काम नगरेको भन्दै जनताको रक्षा गर्न सरकारसँग माग गर्दै यस्तो बताएका हुन् । सांसद महतोले अन्य केही माग नगरी आज जनताको रक्षाको मात्र माग गर्ने उल्लेख गर्दै सरकारका कामप्रति आपत्ति जनाए ।
‘म आज एउटा माग गर्न आएको छु । निर्वाचित सांसद किन रिहाइ भएन ? यो विषय उठाउँदैन । रेशम चौधरी किन रिहा भएन रु त्यो सवाल उठाउँदिन । म आज केही सवाल उठाउने वाला छैन । आज एउटा मात्र कुरा उठाउन मन लागेको छ। एउटा मात्रै प्रश्न हो । एउटा मात्र माग हो । सभामुख महोदय, आज तपाईमार्फत यो सरकारलाई एउटा माग गर्न आएको हुँ’, महतोले भने, ‘नेपाली नागरिकको जीवन रक्षा गरिदेऊ, नेपाली नागरिकलाई बचाऊ, सरकार नेपाली जनता संकटमा छन् । कोरोना संक्रमणबाट नेपालीको रक्षा गर ।’