चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो–’नेपालको कानुनको पालना गर्नु, अनावश्यक बाहिर ननिस्किनु’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख २७, शनिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

बैशाख २७,काठमाडौँ । चिनियाँ दूतावासले आफ्नो नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रहसमेत गरेको छ ।
साथै नेपाल प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको घटना पूर्णरुपमा सुल्झाइएको काठमाडौंस्थित चिनियाँ दूतावासले दाबी गरेको छ ।

आफूहरुलाई स्वदेश फर्काउन माग गर्दै शुक्रबार सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनमा उत्रिएका केही चिनियाँ नागरिकहरुले नेपाल प्रहरीमाथि हातपात गरेका थिए ।

सो घटनाको सन्दर्भमा प्रेस नोट जारी गर्दै दूतावासले कोरोना महामारीको कठिन अवस्थामा नेपाल र चीनले एकअर्कालाई राम्रोसँग बुझ्ने र लकडाउनको कारण उत्पन्न हुने विभिन्न घटनाहरुलाई संयुक्तरुपमा समाधान गर्ने जनाएको छ ।

दूतावासका प्रवक्ताले प्रेस नोट जारी गर्दै नेपालको कानुनको पालना गर्न र अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका छन् ।

‘चिनियाँ पक्षले सधैं नेपालमा रहेका आफ्ना नागरिकले कडाइका साथ नेपालको नियम पालनाको माग गर्दै आएको छ । साथै आफ्ना उचित मागहरु तर्कसंगत र कानुनी हिसाबमा व्यक्त गर्न पनि भन्दै आएको छ,’ प्रेस नोटमा लेखिएको छ, ‘कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणको लागि नेपाल सरकारले लकडाउन गरेको समयमा चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई बारम्बार सरकारको नियममा सहकार्य गर्न सम्झाउँदै आएको छ । अनावश्यक बाहिर ननिस्किन र उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूर्वक बस्न आग्रह गर्दै आएको छ ।’

चिनियाँ दूतावासका अनुसार यसअघि चिनियाँ दूतावासले नेपाल सरकारसँग सहकार्य गरेर ३४० जनालाई चीन फिर्ता लगेको थियो । नेपालले अन्तर्राष्ट्रिय उडान मे ३१ सम्म स्थगित गरेको र सीमित उडान क्षमताको कारण धेरै चिनियाँ नागरिकहरु अहिले पनि नेपालमा फसेका छन् । उनीहरुलाई पनि स्वदेश फर्काउन नेपाली पक्षसँग सम्पर्क कायम राख्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस