फागुन २५,काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग छलफलका लागि बनाएको समितिको बारेमा पार्टीमा विरोध भएको छ ।
अध्यक्ष ठाकुरले पार्टीमा कुनै छलफल नै नगरि एकलौटी ढंगबाट पार्टीका कार्यकारिणी समितिका सदस्य सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई राखेर वार्ता समिति बनाएकोमा पार्टीमा विरोध भएको हो ।
आज जसपा नेपालको संसदीय दलको बैठकमा महन्थ ठाकुरले एकलौटी रुपमा वार्ता समिति बनाएकोमा समाजवादी पार्टीका सांसदहरुले विरोध गरेको बैठकमा सहभागी एक सांसदले जानकारी गराए ।
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक–पटक छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारमा सघाउनका लागि महन्थ ठाकुरलाई आग्रह गरेपछि उनले रेशम चौधरीको रिहाइ, संविधान संशोधन र झुठा मुद्दा फिर्ता लिएपछि मात्र सरकारमा सहभागी हुने नहुने निर्णय गर्ने जवाफ दिएका थिए ।