बैशाख १०,काठमाडौँ । एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए ।
शुक्रबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले गौतमले आफूसँग छलफल गर्न चाहेको बताएका थिए । केपी ओलीले पार्टी ध्वस्त पार्न लागेको भन्दै गौतमले आफूसँग छलफल गर्न चाहेको नेता नेपालको भनाइ थियो । यही विषयमा छलफल गर्न गौतम र नेपालबीच भेटवार्ता भएको हो ।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार नागपोखरीस्थित हरिस गौतमको कार्यालयमा दुई नेताबीच कुराकानी भएको हो ।
विहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री एव्ं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग डिनर मिटिङ गरेका नेता गौतम ओलीसँग बिच्किएर नेता नेपाल निकट पुगेका हुन् । यसअघि गौतम एमालेका दुबै समूहमा नलागी एमाले राष्ट्रिय एकता अभियान चलाएर तेस्रोधारमा थिए ।