जेठ २८,काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । हिजो शनिवार र अस्ति शुक्रवार दुई दिन काठमाण्डौमा आयोजित सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
आइतवार आज बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदी प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले १ सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले १ सय १९ मत प्राप्त गरे। अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे।
यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुली, महिला उपाध्यक्षमा अस्मिता गिरी, उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट विजयी भएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए । महासचिवमा रामकुमार एलन विजयी भएका छन् ।
उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारु विजयी भएका छन् । सचिव खुलामा शिवप्रसाद ढुङ्गाना, अनिल शाही तथा पूर्णबहादुर कार्की विजयी भएका छन् ।
यसैगरी सचिव (महिला) मा कान्ति न्यौपाने, सचिव (दलित) मा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी विजयी भएको निर्वाचन कमिटीले जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भएका छन् । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएटरप्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन भएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिए ।
शुक्रवार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ ।