पुस ५,काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आउँदो फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ । आज बिहीवार बसेको पार्टीको पदाधिकारी बैठकले फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि सात सदस्यीय समिति गठन गरेको जानकारी दिए । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेको उनले बताए । प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो हप्ता नै बस्ने जानकारी दिए ।
बैठकमा पार्टीको चलिरहेको जनतासँग माओवादी–विशेष रूपान्तरण अभियानको समीक्षा भएको प्रवक्ता सापकोटाले बताए । अभियानले पार्टीलाई जीवन्त र गतिशील बनाएको र नेता, कार्यकता र नागरिकका बीचमा नयाँ ढङ्गले सम्बन्ध स्थापित भएको निष्कर्ष निकालेको उनले बताए ।
जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान पुस १६ गते सबै पालिकामा बृहत् जनपरिचालसहित समापन हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।
सापकोटाले पदाधिकारी बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएको विषयमा कुनै छलफल नभएको बताए । पदाधिकारीको अघिल्लो बैठकमा राजीनामाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएको उनको भनाइ छ ।