पुस ११,काठमाडौँ । उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश नवराज थपलिया न्याय परिषद्मा तानिएका छन् । गम्भीर न्यायिक विचलनको विषयमा छानबिन गर्न उनलाई परिषद्मा तानिएको हो ।
न्याय परिषद् स्रोतका अनुसार उनीमाथि गम्भीर प्रकृतिको उजुरी परेको र थप छानबिन गर्नुपर्ने भएकाले उनलाई परिषद्मा तानिएको छ । उनीमाथि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका लागि भन्दै घुस उठाएको आरोप लागेको छ । परिषद्मा उनीमाथि सोही प्रकृतिको उजुरी परेको न्याय परिषद् स्रोतले जनाएको छ ।
उनीसहितका न्यायाधीशमाथि परेका उजुरीहरुको छानबिनका लागि भन्दै आइतबार मात्रै न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहेका छन् ।