पौष २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा नै रहने भएका हुन् ।
अधिकारीको इजलासमा भएको लामिछानेको बयान केहीबेर अघि सकिए पनि थुनछेक बहस सुरु नभएपछि सोमबार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको बताइएको छ ।
अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरुमै बयान दिएका थिए । अदालतले कास्की जिल्ला अदालत झैँ धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो । तर, थुनछेक बहस नसकिएकाले उनले कम्तिमा एकदिन हिरासतमा बस्नु पर्ने भएको हो ।