चैत ८, काठमाडौँ । अफवाह फैलाएको अभियोगमा एक जना अनलाइन पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिन अगाडि सामाजिक सञ्जाल तथा अनलाइनका माध्यमबाट ‘काठमाण्डौका १० ठाउँमा बम विस्फोट’ भन्दै अमर्यादित र भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएको अभियोगमा कपिलवस्तु जिल्ला वाणगंगाका अनलाइन आवाज डट कमका सह–सम्पादक २१ वर्षीय गौरव खनाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार पक्राउ गरेको हो । उनलाई साइबर अपराध अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
थप अनुसन्धानका लागि खनाललाई काठमाण्डौ जिल्ला अदालतबाट ५ दिन म्याद थप गराई हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
तर गौरव खनालका दाजुले भने आफ्ना भाइको गल्ती नभएको र प्रहरीले गलत मान्छेलाई पक्राउ गरेको बताए । ‘काठमाण्डौका विभिन्न ठाउँमा बम विस्फोट’ भन्ने समाचार अनलाइन आवाज डट नेटले प्रकाशित गरेको र गौरव खनाल सह(सम्पादक रहेको अनलाइन आवाज डट कम अलग भएको खनालले बताए। यसबारेमा प्रेस काउन्सिलसँग सहकार्य गरेर ुनिर्दोषु भाइलाई छुटाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको पनि उनले जानकारी दिए।