चैत्र २३, काठमाण्डौ । काठमाडौंका ठूला सरकारी अस्पतालमा रहेका भेन्टिलेटर मर्मत गर्ने प्राविधिक र सामग्री नपाउँदा त्यसै थन्किएका छन् । कोरोनाभाइरस संक्रमित बिरामी संख्या थपिँदै गएको अवस्थामा अस्पतालका भेन्टिलेटरहरू तयारी अवस्थामा राख्नु पर्नेमा मर्मत हुन सकेका छैनन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आइसियू कक्षका ६ वटा भेन्टिलेटरले काम गर्दैन। महांकालस्थित ट्रमा सेन्टरका १० वटा भेन्टिलेटर पनि मर्मत गर्नुपर्ने अवस्थामा छ । ललितपुरस्थित गणेशमान सिंह मेमोरियल अस्पतालका चार वटा भेन्टिलेटर पनि मर्मतको पर्खाइमा छ। प्राविधिक नपाइएको र सामग्री अभाव भएकोले भेन्टिलेटर मर्मत गर्न नसकिएको अस्पतालहरूले जनाएका छन् ।
दुई सातादेखि देश लकडाउनमा छ । यस्तो बेला भेन्टिलेटर मर्मत गर्ने जनशक्ति अभाव छ। तर राष्ट्रिय आविष्कार केन्द्रले केही भेन्टिलेटर मर्मत सुरू गरेको छ । केन्द्रका महावीर पुनले ट्रमा सेन्टरका बिग्रेका सात वटा भेन्टिलेटर आविष्कार केन्द्रमा मर्मत गर्न थालिएको बताए ।