धरानमा डेंगु संक्रमण तीव्र गतिमा फैलदै, संक्रमित संख्या २ हजार नाघ्यो

Post Thumbnail

साउन ३,धरान । धरान उपमहानगरपालिकामा डेंगु संक्रमण निकै तीव्र गतिमा फैलिरहेको छ । एक हप्ता अघिसम्म दैनिक १२/१५ जनामा संक्रमितको पुष्टि हुने गरेकोमा बुधबार १०० भन्दा बढीमा संक्रमण देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार गत तीन वर्ष अगाडिको दृश्य देखिन सुरु गरिसकेको छ ।

सन् २०१९ मा धरानमा डेंगुले महामारीकै रूप लिएको थियो । धरान उपमहानगरपालिकामा मात्रै अहिलेसम्म संक्रमित संख्या २ हजार नाघिसकेको छ ।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार मनसुन सुरु भएदेखि डेंगुका बिरामी आउने संख्या बढ्दो छ ।

‘हाल डेंगुकै बिरामीले आकस्मिक कक्ष भरिभराउ भएका छन् । बिरामीको चाप बढेपछि छुट्टै डेंगु क्लिनिकबाट सेवा दिइरहेका छौं’ पोखरेलले  भने, ‘यो सुरुवाती दृश्यले डेंगु प्रकोपकै रूपमा फैलिन सक्ने आकलन गर्न सकिन्छ ।’

उनका अनुसार दैनिक परीक्षण गरिएको मध्ये ७५ प्रतिशतभन्दा बढीलाई डेंगु पुष्टि हुने गरेको छ । डेंगु संक्रमित बढेसँगै धरान उपमहानगरपालिका र प्रतिष्ठानको सहकार्यमा क्लिनिक सञ्चालनमा आएको हो ।

धरानमा हाल संक्रमणसँगै बिरामीको मृत्यु समेत हुन थालेको छ । डेंगु संक्रमणको कारण उपमहानगरपालिका वडा १७ की ३७ वर्षीया महिलाको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस