स्याङ्जामा पानीको मूल जोगाउन बृहत् वृक्षरोपण अभियान सुरु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० श्रावण ७, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । स्याङ्जामा पानीको मूल जोगाउन बृहत् वृक्षरोपण अभियान सुरु गरिएको छ। अभियान अन्तर्गत जिल्लाका ९७ वटै वडामा माटो सुहाउँदो बिरुवा रोपिने भएको छ। पछिल्लो समय पानीका मूल सुक्ने क्रममा रहेको भन्दै जिल्लाभर एक लाख बिरुवा रोप्ने कार्यक्रम तय गरिएको राष्ट्रिय सङ्कल्प अभियानका संयोजक दुर्गादत्तभुसालले जानकारी दिए।

‘वृक्षरोपण गरौँ, पानीको मूल जोगाऔँ, हामी सबै बाचौँ र सबै प्रणाली बचाऔँ’ भन्ने मूल ध्येयका साथ वृक्षरोपण अभियान चलाइएको संयोजक भुसालले बताउनुभयो। पर्यावरण बिग्रेका कारण खानेपानीका मुहान सुक्ने, बाढीपहिरो निरन्तर गइरहने र बाँदरको कारण गाउँबस्ती मानवविहीन हुन थालेको अभियन्ताको भनाइ छ। मानवले आगामी पुस्ताका लागि समेत पर्यावरण बचाइराख्नुपर्ने भन्दै जनचेतनाको अभावमा सबै क्षेत्रमा असर परेको संयोजक भुसालले बताए।

भुसालका अनुसार जिल्लाका ११ वटै पालिकाका ९७ वटै वडामा बिरुवा रोपिने छ। जिल्लामा रहेको आँधीखोला, दरौँ खोला, ज्याग्दी खोला तथा कालीगण्डकीको नदी किनारमा पनि बिरुवा रोपिने भुसालले बताए।

भुसालले भने, “जङ्गलमा खानेकुरा नहुँदा बाँदर बस्तीमा आउन थाले। बाँदरलाई नियन्त्रण गर्न हरेक जङ्गल र छाडिएका पाखाबारीमा फलफूलका बिरुवा लगाउने छौँ। जसले गर्दा केही हदसम्म बाँदर बस्तीमा आउन रोकिने छ।” भुसालको नेतृत्वमा जिल्लाकै ऐतिहासिक धार्मिक स्थल छायाँ क्षेत्र मन्दिर परिसरमा वृक्षरोपण गरेर यो अभियानको सुरु गरिएको हो।

वर, पिपल, अम्बा, टिमुर, अमला, लप्सी, आरुलगायत बाँदरका लागि जङ्गलमै रोक्ने र बाढीपहिरो रोक्न बाँस, अम्रिसो, सल्लो, उत्तिस, सिसौलगायत झन्डै दुई दर्जन प्रजातिका बिरुवा लगाइने भुसालको भनाइ छ। अभियानलाई साथ दिन जनप्रतिनिधि, नागरिक समाज, विभिन्न सामाजिक सङ्घ संस्थालगायत सबै स्याङ्जावासीलाई अभियानकर्ताले अनुरोध गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस