न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाण्डौँ ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, ‘न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।’

त्यसपछिका वृत्तिविकासमा आफू सधैं काममा अब्बल रहेका कारण नै होला सधँै अग्रस्थानमा पुगेको उनको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, ‘यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।’

सो अवसरमा उनले आफू डोटीमा जन्मिइ सुदूरपश्चिमबाट भारतको बाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्थामा दुःख सुख गरेर कठिनाइ र सङ्घर्षका साथ अध्ययन तथा वृत्तिविकासमा लागेको स्मरण गरे । प्रधानन्यायाधीश श्रेष्ठले हाल आफ्नो कार्यक्षेत्रमा राम्रै गरेको छु भन्ने लागेको र सबैले पनि त्यही बुझेको महसुस गरेको भन्ने लागेको बताए ।

‘सुदूरपश्चिम भन्नासाथ असाध्यै माया लाग्छ । जन्मेको ठाउँ । नजिक रहने हाम्रो स्वभाव पनि हो’, उनले भने । मञ्चले सुदूरपश्चिम प्रदेशका लागि राम्रो काम गरिरहेको जनाउँदै उनले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने कामना गर्दै आफूबाट हुनसक्ने सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मञ्चका अध्यक्ष बहादुरसिंह विष्टले संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराउँदै संस्थाका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन गरेका थिए । यसैगरी मञ्चका संस्थापक संरक्षक एवं पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा मञ्चका सल्लाहकार, पदाधिकारी एवं सदस्य सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस