आज शहीद दिवस मनाइँदै,सार्वजनिक बिदा छैन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १६, मंगलबार (१ साल अघि)
  • २६ पटक पढिएको
आज शहीद दिवस मनाइँदै,सार्वजनिक बिदा छैन

माघ १६,काठमाडौँ । आज शहीद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा देशभर कार्यक्रम गर्ने गरिन्छ । आजको दिन शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अरू शहीदको योगदानलाई स्मरण गर्ने गरिन्छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा मनाउने गरिन्छ। साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना हुने गरेको छ ।

राणा शासनको विरोध गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

यस वर्ष आज शहीद दिवसको दिन सार्वजनिक बिदा नहुने तर राष्ट्रिय पर्वका रूपमा मनाउने गृह मन्त्रालयले जनाएको छ । सरकारले सार्वजनिक बिदा दिन यसअघि गरेको निर्णय अर्को वर्ष २०८१ सालदेखि लागू हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

जिम्मेवार निकाय र अधिकारीहरु शहीदको सपना पूरा गर्न लागिपरेको निरन्तर बताउने गरेका छन् । तर मापदण्ड र स्पष्ट परिभाषा नगरि शहीद घोषणा गर्ने कामको टीकाटिप्पणी हुने गरेको छ । नेपालका पहिलो शहीद लखन थापालाई मानिन्छ ।

यसैबीच राष्ट्रपति, प्रधानमन्त्रीलगायतले दिवसको अवसरमा शुभकामना व्यक्त गरी शहीदले देखेका सपना र लिएको अठोटलाई पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्ने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस