मंसिर ३, काठमाडौं । आउँदो वर्ष हुने युरोकप फुटबलका लागि सबैभन्दा पहिले छनौट हुने टिम बनेको इटालीले शानदार जितसहित छनौट चरणको यात्रा सम्पन्न गरेको छ ।
समूह जे मा रहेको इटालीले सोमबार राति भएको छनौट चरणको आफ्नो अन्तिम खेलमा अर्मेनियालाई ९–१ को विशाल गोल अन्तरले पराजित गरेको हो ।
फुटबल इतिहासमा फराकिलो जित मध्येको एकमा पर्ने जित निकाल्ने क्रममा इटालीले पहिलो हाफमा चार तथा दोस्रो हाफमा पाँच गोल गरेको हो । अर्मेनियाले दोस्रो हाफमा एक गोल फर्काउन सक्यो ।
इटालीका लागि चिरो इमोबिले र निकोलो जानिओलोले दुई–दुई गोल गरे । चिरोले ८ र ३३ औँ तथा जानिओलोले ९ र ६४ औँ मिनेटमा गोल गरेका हुन् ।
यस्तै २९ औँ मिनेटमा निकोलो बारेला, ७२ औँ मिनेटमा एलेसिुओ रोमाग्नोली, ७५ औँ मिनेटमा पेनाल्टी मार्फत जर्जिनिओ, ७७ औँ मिनेटमा रिकार्दो ओर्सोलिनी र ८१ औँ मिनेटमा फेडेरिको केइसाले गोल गरे । अर्मेनियाका लागि एड्गर बाबायनले ७९ औँ मिनेटमा एक गोल फर्काए ।
सबै १० खेल जितेको इटालीको ३० अंक भयो । इटालीले यसअघि सन् १९४८ मा अमेरिकालाई ९–० ले पराजित गरेको थियो।
समूह जे अन्तर्गत नै सोमबार राति भएको खेलमा युरोकपमा स्थान बनाउन सफल भएको फिनल्याण्ड ग्रिससँग २–१ ले पराजित भयो । यस्तै अर्को खेलमा बोसनिया हर्जगोबिनाले लिचेस्टाइनलाई ३–० ले पराजित गरेको छ ।