-राज ढुंगाना/घनश्याम रिजाल
१३औं दक्षिण एसियाली खेलकुदको भव्य तयारी दशरथ रंगशालामा भईरहेको छ । मंगलबार रंगशालामा आगामी मंसिर १५ गतेदेखि सुरु हुने सागको उद्धघाटन सत्रको पुर्व अभ्यास गरिएको छ । पुर्व अभ्यासका साथै रंगशालाको सम्पुर्ण व्यवस्थापन तयारी बुझ्न खेलकुद मन्त्री जगत विश्वकर्मा रंगशालामा थिए ।
मंगलबार पनि रंगशालामा निर्माण कार्य भईरहेको थियो । भिभिआईपी प्याराफिटमा अझै निर्माण सकिएको छैन। अन्य भौतिक व्यवस्थापन हुन अझै बाँकी रहेको छ । नेपालमा तेस्रो पटक आयोजना गर्न लागेको दक्षिण एसियाली खेलकुदको कुम्भ मेला सागको भब्य उद्घाटनसहित केही खेल यही हुनेछ ।
यो नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला पनि हो । तर खेल आयोजनाभन्दा पनि पहिले उद्घाटन समारोह कसरी भव्य बनाउने र त्यसका लागि दशरथ रंगशाला कसरी तयार पार्ने भनेर अहिले काम भइरहेको छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आफैं दैनिक जसो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुग्छन्, निरीक्षण गर्छन्, आवश्यक परेका सल्लाह दिन्छन् । हुनत यो उनको काम होइन ।
तर एक सातापछि मंसिर १५ गतेबाट हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि निर्माण कार्य अझै नसकिएकाले उनी रंगशाला धाइरहेका छन् र कामको प्रगति रिपोर्ट लिइरहेका छन् ।