कार्तिक २८, काठमाण्डौ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो । खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा अर्को एक गोल थप्यो । उसका लागि खेलको ८० औँ मिनेटमा महबुबुर रहमानले गोल गरे ।
नेपालले अब बङ्गलादेशसँग आउँदो मङ्गलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने छ । नेपाली राष्ट्रिय फुटबल टोलीले एक वर्षपछि शुक्रबार आज प्रतियोगिता खेलेको हो । नेपालले गएको वर्षको नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत कुवेतसित फुटबल खेलेको थियो । नेपाल त्यो खेलमा कुवेतसित १–० गोलले पराजित भएको थियो । कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेलेको थिएन । महामारीकै बीच नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।