मंसिर २३, काठमाण्डौ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप २०२२ का लागि युरोपेली राष्ट्रहरुको छनोटको समूह सार्वजनिक भएको छ । सोमबार भएको ड्र समारोहमा युरोपका ५५ राष्ट्र १० समूहमा विभाजित भएका हुन् । समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्यान्ड गणतन्त्र, लक्जेमबर्ग र अजरबैजान छन् । समूह बी मा सन् २०१० को विजेता स्पेनसँगै स्विडेन, ग्रिस, जर्जिया र कोसोभो रहेका छन् । सन् २००६ को विजेता इटालीले स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुआनियाको सामना गर्नेछ ।
साविक विजेता फ्रान्स रहेको समूह डी मा युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना र काजकास्तान रहेका छन् । बेल्जियम र वेल्स सम्मिलित समूह ई मा चेक गणतन्त्र, बेलारुस र एस्टोनिया छन् । समूह एफ मा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड र मोल्डोभाले खेल्नेछन् ।
हरेक समूहको शीर्षस्थानमा रहने टोलीले सिधै विश्वकपमा स्थान पक्का गर्नेछन् । समूहको दोस्रो स्थानमा रहने टोलीले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । छनोटका खेल सन् २०२१ को मार्च महिनादेखि सुरु हुनेछ ।