आरिफको अर्धशतकमा नेपालले दियो नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २७, मंगलबार (१ दिन अघि)
  • ७४ पटक पढिएको
आरिफको अर्धशतकमा नेपालले दियो नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य

जेठ २७, काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३६ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले ।

यस्तै कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५–३५ रन बनाए भने कुशल भुर्तेलले १८ रन जोडे । बसिर अहमद र करण केसीले समान ११–११ रन बनाए ।

नेदरल्यान्ड्सका लागि माइकल लेविटले तीन विकेट लिए । पाउल भान मेक्रेनले २ तथा आर्यन दत्तले एक विकेट लिए ।

नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन गरिएको छ । अभ्यासका क्रममा घाइते भएपछि सोमपाल कामी र गुल्सनकुमार झा आजको खेल खेल्नबाट वञ्चित भएका छन् । उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ । दायाँ हाते तीव्र गतिका बलर नन्दनले आजैको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।

त्यसैगरी, ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस