जेठ १,काठमाडौँ । भक्तपुरको सूर्यविनायकमा लागेको आगलागी नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिका–५, चुनदेवीमा बिजेन चौगुठीले जस्ताको टहरोमा सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा हिजो बेलुका सात बजे आगलागी भएको थियो ।
आगो गएराति साढे १० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक डीएसपी वसन्त पाठकले जानकारी दिए । आगो निभाउन भक्तपुरको ३, काठमाण्डौ र ललितपुरको एक–एक गरी ५ वटा दमकल परिचालन गरिएको थियो ।
साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । हिजो बिजेन चौगुठीको फर्निचर कारखानाबाट सल्किएको आगोले नजिकै रहेको उनको साढे तीन तलाको घरमा पनि नोक्सानी भएको छ । यस्तै, पुष्प सिल्पकारको कृपालु फर्निचर कारखानामा पनि आगलागी भएको थियो । आगो लाग्नुको कारण खुल्न बाँकी छ ।