म्युचुअल फण्डहरुको न्याभ बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन ५, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
म्युचुअल फण्डहरुको न्याभ बढ्यो

काठमाण्डौ । पुस महिनामा सञ्चालनमा रहेका सबै म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । ४२ म्युअुल फण्डले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार मंसिर महिनामा सबै फण्डको न्याभ वृद्धि भएको हो ।  

पछिल्लो केही समययता दोस्रो बजारमा सुधार देखिएसँगै म्युचुअल फण्डहरुको न्याभ वृद्धि हुन पुगेको हो । अधिकांश फण्डको न्याभ १० रुपैयाँमाथि छ । ८ फण्डको न्याभ भने ९ रुपैयाँमाथि छ ।  

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षामा सेयरबजार सुधार गर्ने खालको नीति ल्याएसँगै बजार एकाएक चम्किन थालेको थियो । लामो समयसम्म फण्डहरुको न्याभ १० रुपैयाँ वा सो भन्दा तल झरेको थियो । साथै अधिकांश फण्डले घाटा समेत व्यहोरेका थिए ।  

बजारमा आक्रामक सुधार देखिन थालेसँगै २–३ महिनायता फण्डहरुको न्याभ बढ्न पुगेको छ । साथै फण्डहरुले नाफा आर्जन गरी सूचीकृत सेयरमा लगानी समेत थप गरेका छन् ।  

पुस महिनामा ९ वटा म्युचुअल फण्डको न्याभ ११ रुपैयाँमाथि पुगेको छ, भने २५ फण्डको न्याभ १० रुपैयाँमाथि छ ।  

पुसमा सबैभन्दा बढी न्याभ एनएमबि क्यापिटलद्वारा सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को न्याभ ११.४९ रुपैयाँ छ । फण्डले अघिल्लो महिनाको तुलनामा ५१ पैसाले न्याभ बढाएको हो । मंसिरमा सो फण्डको न्याभ १०.९८ रुपैयाँ थियो ।  

त्यस्तै, सानिमा इक्विटी फण्डको ११.४३ रुपैयाँ, सनराइज फर्स्ट म्युचुअल फण्डको ११.३७ रुपैयाँ, एनआइसी एशिया सेलेक्ट–३० को ११.२५ रुपैयाँ, कुमारी सुनौलो लगानी योजको ११.१९ रुपैयाँ, एनआईसी एशिया ग्रोथ फण्डको ११.१९ रुपैयाँ, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको ११.१३ रुपैयाँ, कुमारी धनबृद्धि योजनाको ११.०६ रुपैयाँ र सानिमा ग्रोथ फण्डको ११.०६ रुपैयाँ छ ।  

१० रुपैयाँ तल न्याभ हुने फण्डहरु  

पुस महिनामा ८ वटा म्युचुअल फण्डको न्याभ १० रुपैयाँभन्दा तल छ । सबैभन्दा थोरै मेगा म्युअुल फण्ड–१ को न्याभ ९.०७ रुपैयाँ छ । फण्डले मंसिरको तुलनामा भने ३५ पैसाले न्याभ बढाएको हो ।  

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डको ९.९७ रुपैयाँ, सनराईज ब्लुचिप फण्डको ९.९४ रुपैयाँ, एनआईबीएल प्रगति फण्डको ९.०८ रुपैयाँ, एनएमबी सरल बचत फण्ड–ई को ९.४६ रुपैयाँ, नबिल ब्यालेन्स्ड फण्ड–३ को ९.४३ रुपैयाँ, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको ९.३३ रुपैयाँ र एनआईबीएल समृद्धि फण्ड–२ को ९.२५ रुपैयाँ छ ।  

ताजा अपडेट

खोजी गर्नुहोस